एजेन्सी - आर्सनलका पुर्व प्रशिक्षक आर्सेने वेङ्गरले युवा खेलाडी उत्पादन र पहिचान गर्न माहिर मानिन्छन । उनकै नेतृत्वमा आर्सनलले सन् २००३/०४ मा कुनै पनि खेलमा पराजयको सामना नगरी ईङ्ग्लिश प्रिमियर लिगको उपाधि आत्मसात गरेको थियो। वेङ्गरले २२ बर्ष आर्सनलमा मुख्य प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए।
हालै मात्र फ्रेन्च प्रशिक्षक वेङ्गरले आर्सनलमा हुँदा अंग्रेज खेलाडी जाडोन सान्चोलाई अनुबन्धन गर्न असफल भएको खुलासा गरेका छन्। सान्चो हाल जर्मन क्लब बोरुसिया डर्टमुण्डमा कुशल खेल देखाउँदै जर्मन बन्डस लिगाकै उत्कृष्ट खेलाडीहरु मध्येका एक भैसकेका छन्।
सान्चोले प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीमा पर्याप्त खेल समय नपाउँदा वेङ्गरले उनलाई भित्र्याउन प्रायस गरेका थिए। तर उनले डर्टमुण्ड जाने निर्णय गर्दा वेङ्गरको योजना असफल भएको थियो। खेलाडी भित्र्याउने सिलसिलामा वेङ्गर बिगतमा पनि धेरै पटक चुकी सकेका थिए ।
आर्सेनलमा रहँदा वेङ्गर पोग्बा, मेस्सी , रोनाल्डो , जाबी अलन्सो र लूइस सुआरेज जस्ता खेलाडीहरु भित्र्याउने अवसरमा चुकेका थिए। कुनै समय आर्सनल र वेङ्गरले युवा अवस्थामा अनुबन्धन गर्न असफल भएका केहि उत्कृष्ट खेलाडीहरुको सुची यस्तो छ :
जियानलुइजी बुफ़न, जेरार्ड पिके, भिन्सेन्ट कम्पनी, पाउल पोग्बा, एनगोलो कान्टे, जाडोन सान्चो, एन्जल डि मारिया, जाभी अलन्सो, ईडेन हजार्ड, गराथ बेल, लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, ज्लाटन इभ्राहिमोभिच, लुईस सुआरेज, रोनाल्डिन्हो ।