काठमाडौं । बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणकोे दोस्रो सेमिफाइनलमा आज (शुक्रबार) विभागीय टिम नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्स फेमिलिबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ । धरान रंगशालामा उत्रदै गर्दा दुबै टोलीको लक्ष्य फाइनल पुग्नु हुनेछ ।
विजेताले उपाधिका लागि भोली (शनिबार) आयोजक धरान फुटबल क्लबसँग खेल्नेछ ।
विभागीय नेपाल पुलिस क्लब खप्तड गोल्डकपको विजेता हो ।
यस्तै क्यामरुनको दाउफिन्सले मनकामना केवलकार पोखरा कपको उपाधि उचालेको थियो ।
पुलिसले साहारा क्लब र दाउफिन्सले विभागीय एपिएफलाई पराजित गर्दै सेमिफाईनल भिडन्त पक्का गरेका थिए ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागततर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक पाउने आयोजकले बताएको छ ।