एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा चेल्सीले जित निकालेको छ । बिहिबार राति भएको खेलमा लण्डन क्लब चेल्सीले स्विडेनको माल्मोलाई २-१ गोल अन्तरले हराएको हो ।
माल्मोको घरेलु मैदानमा भएको खेलमा अग्रता चेल्सीले लिएको थियो ।
रोस बार्कलीले गोल गर्दै चेल्सीलाई ३० औ मिनेटमा अग्रता दिलाएका थिए । पेड्रोको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
५८ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै लण्डन क्लबको अग्रता दोब्बर पारे । विलियनको पासलाई सदुपयोग गर्दै उनी गोल गर्न सफल भएका थिए ।
एन्डर्स क्रिस्टियनसनले ८० औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
युरोपा लिगमा यस सिजन चेल्सी अपराजित छ ।
प्रिमियर लिगमा गत आईतबार म्यान्चेष्टर सिटीसंग ६-० ले पराजित भएपछि चेल्सी प्रशिक्षक माउरिजियो सरी दबाबमा छन् ।