काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुदैछ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवाँ ६ बजे सुरु हुनेछ ।
नेपालको राष्ट्रिय महिला फुटबल टिम पहिलो पटक उपाधि भित्राउने लक्ष्यमा रहेको छ ।
दक्षिण एसियाली फुटलबमा सधै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समुह चरणमै पराजित गरेपछि नेपालले फाईनलमा म्यानमारलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।
समुह चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । लिग चरणको सुरुवाती खेलमा ब्यहोरेको हारको बदला लिने अवसर समेत नेपाललाई प्राप्त छ ।
गत नोभेम्बरमा सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटका लागि भएको प्रतिस्पर्धामा नेपाल र म्यानमारले बराबरी खैल्दै अंक बाँडेका थिए ।
विश्व वरियतामा नेपाल भन्दा निकै माथि रहेको म्यानमारलाई हराउँदै महिला फुटबलको ईतिहासमा उपाधि जित्ने अवसर महिला टोलीलाई छ । फिफा वरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यानमार ४४ औँ स्थानमा रहेको छ ।
म्यानमार प्रतियोगिताको अपराजित टिम हो । उसले नेपाल सहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो ।
पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत र ईरानविरुद्वको जितले उत्साहीत नेपाली टिम भारतीय भुमीमा ईतिहास रच्न आफु सक्षम रहेको बताएको छ ।
नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा साग गेम्समा पनि नेपालको तगारो समेत भारतनै बनेको थियो ।