धरान । आयोजक धरान फुटबल क्लब २१ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बिहिबार भएको पहिलो सेमिफाइनलमा सिएमजी संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै धरान उपाधि नजिक पुगेको हो ।
धरान रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा आयोजक धरानका गोलकिपर विनय श्रेष्ठ नायक बने । उनले संकटाको दुई पेनाल्टी रोकेका थिए ।
पेनाल्टी सुटआउटमा धरानका वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरे । हेमन्त थापामगरको प्रहार संकटा गोलरक्षक राजाबाबु थापाले रोकेका थिए ।
संकटाका लागि अमित तामाङ, दिनेश आले मगर, लक्ष्मण रुचालले गोर गरे । सरोज दाहाल र सेड्रिक अवाको प्रहार धरानका गोलरक्षक विनय श्रेष्ठले बचाए । खेलको म्यान अफ दि म्याच आयोजक धरानका गोलरक्षक विनय श्रेष्ठ चुनिए । उनले १५ हजार रुपैया प्राप्त गरे ।
अब धरानले फागुन ३ गते उपाधिका लागि नेपाल पुलिस र क्यामरुनको दाउफिन्सबीचको विजेतासँग खेल्नेछ ।
धरान फुटबल क्लबको आयोजनामाजारी प्रतियोगिताको विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ ।
सर्वाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार पुरस्कार राखिएको छ ।