एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी बिग बास लिगको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै मेलबर्न फाइनलमा पुगेको हो । अब मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको विजेतासंग खेल्नेछ ।
होबर्टमा घरेलु टोलीले दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ ओभर ५ बलमा ७ बल बाँकी रहदै पुरा गर्यो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए ।
यस्तै सेब कोट्च ३३ रनमा अविजित रहे । त्यसबाहेक पिटर ह्याण्ड्सकम्बले ३५, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८/१८ रन बनाए । होबर्टका कुईस अहमेदले ३ विकेट तथा ज्याफ्रा आर्चरले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए ।
यस्तै जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
मेलबर्नका ड्यानिएल वारेलले ४ तथा एडम जाम्पा र ड्यान ब्राभोले समान १/१ विकेट लिए । नेपालका सन्दीप भने विकेटविहीन बने । सन्दीपले पुरै ४ ओभर बलिङ गरेपनि विकेट लिन सकेनन् । सन्दीपले ४ ओभरमा ३१ रन खर्चिए ।