काठमाडौं । नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' आयोजना हुने भएको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको फ्रेन्चाईज क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ ।
प्रतियागिता चैत २२ देखि ३० सम्म काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । प्रतियोगितामा ५ सहरका ५ टिम रहने आयोजक म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराए ।
प्रतियोगिताको पुरस्कार राशी र सहभागी टिमबारे केहि समयपछि जानकारी हुने निर्देशक लामाले बताए ।
प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट अक्सनबाट गर्ने वा नगर्ने भन्ने जानकारी पछि दिईने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला टिमले ठुलो फड्को मार्ने बताए ।
‘पुरुष टिममा झै महिला टिममा पनि यस्ता फ्रेन्चाइज प्रतियोगिता भए महिला टिमले ठुलो सफलता हात पार्नेछ ।’ उनले भने ।
यस्तै राष्ट्रिय पुरुष टिमका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टिममा राम्रो सन्देश आउने बताए ।
आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले भारतमा पनि नभएको महिला फ्रेन्चाइज लिग नेपालमा हुँदा एकदमै उत्सुक भएको बताईन् ।