धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल बर्षाको कारण रद्द भएको छ ।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरविरुद्ध टस जितेर विराटनगरले ब्याटिङ गरिरहदा पानी परेपछि खेल रद्द भएको हो । खेल रद्द भएसंगै दुई टोलीले १-१ अंक बाडेका छन् ।
बर्षाले खेल रोकिनु अघि विराटनगरले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर ८२ रन जोडेको थियो । विराटनगरका लागि असद उल्लाह खान पठानले सर्वाधिक १९ रन जोडेका थिए । यस्तै पृथु बास्कोटाले १४, अभिनास यादवले १३ तथा तृत राज दासले १२ रन बनाए । महेन्द्रनगरका सागर ढकालले ३ विकेट लिए ।
यस खेल रद्द शरद भेषवाकरको टिम महेन्द्रनगरले पहिलो अंक जोडेको छ । र, प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । सुरुवाती २ खेलमा पराजित महेन्द्रनगर १ अंकसहित पाँचौ स्थानमा छ । महेन्द्रनगर पहिलो खेलमा रुपन्देही र दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससंग पराजित भएको थियो ।
करण केसीको विराटनगरले भने २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा रुपन्देहीसंग पराजित विराटनगरले दोस्रो खेलमा धनगढीलाई हराएको थियो ।