धनगढी । सिवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको हो ।
फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोबले समान १४/१४ रन बनाए । विनोद भण्डारी १० रनमा आउट भए ।
रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । ४२ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरे ।
खराब सुरुवात गर्दै १६ रन जोड्दा २ विकेट गुमाईसकेको अत्तरियाका लागि कप्तान दिपेन्द्रले तेस्रो विकेटका लागि रित गौतमसंग मिलेर ५७ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । रित १२ रनमा आउट भए ।
यस्तै अत्तरियाका सन्नी पटेल र सुबेन्धु पाण्डेले समान १२/१२ रन बनाए । रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए । बसन्त रेग्मी र पुनित मेहेराको नाम १/१ विकेट रह्यो ।
जितसंगै अत्तरियाले २ खेलबाट ४ अंक जोडेको छ । र, अत्तरिया स्थानमा समेत उक्लिएको छ । लगातारको जितपछि अत्तरियाले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो ।
रुपन्देहीको भने यो पहिलो हार हो । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्देहीले ४ अंक जोडेको छ । रुपन्देही तेस्रो स्थानमा छ । रुपन्देहीको पनि प्ले अफ सम्भावना रहेको छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।