काठमाडौं । जापानमा आयोजना हुने सन् २०२० को ओलम्पिक महिला फुटबलको लागि एसिया छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह 'ए' मा परेको छ ।
एसियन फुटबल फेडेरेसनले सार्वजनिक गरेको दोस्रो चरणको समूह विभाजनमा नेपाल सहज मानिएको समूह 'ए' मा परेको हो । नेपालको समूहमा दक्षिण एसियाली मुलुक भारतसहित आयोजक म्यानमार र इन्डोनेसिया रहेका छन् ।
म्यानमार मै भएको पहिलो चरणको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाली महिला टोलीले दोस्रो चरणमा स्थान बनाएको थियो । पहिलो चरणका खेलमा पनि नेपाल भारत र म्यानमार एकै समूहमा रहेको थिए । जसमा नेपालले दुवै टोलीसंग १–१ को बराबरी खेलेको थियो ।
यस्तै समूह 'बी' मा भियतनाम, जोर्डन, हङकङ र उज्वेकिस्तान छन् । समूह 'सी' मा चाइनिज ताइपेन, इरान, फिलिपिन्स र प्यालेस्टाइन रहेको छन् ।
छनोट प्रतियोगिता आगामी अप्रिल १ देखि ९ सम्म म्यानमारमा आयोजना हुनेछ । खेल हुने स्थान भने तोकिएको छैन ।
नेपालले पहिलो खेलमा अयोजक म्यानमारको सामना गर्नेछ । दोस्रो खेलमा भारतसँग र तेस्रो खेलमा इन्डोनेसियासँग खेल्नेछ ।