धनगढी । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । ४२ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरे ।
खराब सुरुवात गर्दै १६ रन जोड्दा २ विकेट गुमाईसकेको अत्तरियाका लागि कप्तान दिपेन्द्रले तेस्रो विकेटका लागि रित गौतमसंग मिलेर ५७ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । रित १२ रनमा आउट भए ।
यस्तै अत्तरियाका सन्नी पटेल र सुबेन्धु पाण्डेले समान १२/१२ रन बनाए । रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए । बसन्त रेग्मी र पुनित मेहेराको नाम १/१ विकेट रह्यो ।
शीर्ष स्थानको रुपन्देहीविरुद्ध अत्तरिया लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पहिलो खेलमा धनगढीलाई हराएको अत्तरियाले १ खेलबाट २ अंक जोडेको छ । लिग लिडर रुपन्देहीलाई हराएर अत्तरिया प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
बसन्त रेग्मीको रुपन्देही भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । र, रुपन्देही प्ले अफमा पुग्न चाहन्छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्द्देही ४ अंक जोडेर शीर्ष स्थानमा छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।