काठमाडौं । क्यामरुनी क्लब दाउफिन्स फेमली २१ औं बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा नेपाल एपीएफ क्लबलाई २- ० गोल अन्तरले हराउँदै दाउफिन्सले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।
धरान रंगशालामा नग्मा यानिकले आठौं मिनेटमा गोल गर्दै बिदेशी टोलीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा नग्मा यानिकलेनै गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेका थिए । दाउफिन्सले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । खेलमा दुई गोल गरेका नग्मा यानिक म्यान अफ द म्याच घोषित हुँदै नगद १५ हजार प्राप्त गरे ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाईक प्रदान गर्ने आयोजकले बताएको छ ।