काठमाडौं । नेपाली यु–१९ फुटबल टोलीका कप्तान अर्पण कार्की सम्मिलित भुटानको पारो फुटबल क्लबले जिग्मे दोर्जे वाङ्गचुक स्मृति गोल्डकपमा फराकिलो जित दर्ता गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पारोले फुईन्ट सोलिङ्गलाई ८–० ले पराजित गरेको हो । जितसँगै पारो क्वाटरफाइनल प्रवेश गरेको छ । खेलमा अर्पणले पारोबाट पुरै समय खेलेका थिए ।
पारोको जितमा फुर्वा वाङ्गचुकले पहिलो हाफमै ह्याट्रिक पुरा गरे । उनले खेलको ११, १३ र २५ औं मिनेटमा गोल गरे । यस्तै फुर्वा वान्चुकले दुई गोल गरेका थिए । उनले खेलको ३५ र ४९ औं मिनेटमा गरि दुई गोल गरेका थिए । यस्तै फुव थिन्ले, चेन्चो र निमा छिरिङले एक एक गोल गरको थिए ।
अब पारो फुटबल क्लबले सेमिफाइनल प्रवेशका लागि आइतबार प्रान जैगाओङ्गसँग खेल्नेछ । प्रतियोगितामा नेपालबाट रुस्लान थ्री स्टार र विभागीय त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएको छ ।