काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा बुधबार भएको खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको गरेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । एक गोल अनिता बस्नेतको नाममा रह्यो ।
नेपालले खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल थप्यो ।
सावित्रा भण्डारीले ५९ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । खेल सकिन एक मिनेट बाँकी छदाँ व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन ।
जितसंगै नेपालको फाईनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले तीन खेलबाट ६ अंक जोडेको छ ।
म्यानमारको समेत ६ अंक छ । म्यानमारले आज राति भारतसंग खेल्दैछ । म्यानमारले भारतलाई पराजित गरेमा नेपाल प्रतियोगिताको फाईनल पुग्ने छ ।
भारतले जितेमा गोल अन्तरका आधारमा फाईनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
ईरान लिग चरणका सबै खेलमा पराजित भएको छ ।
नेपाल पहिलाे खेलमा म्यानमारसंग ३-० ले पराजित भएकाे थियाे । दाेस्राे खेलमा भारतविरुद्द २-१ काे जित निकालेकाे थियाे ।