काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा श्री भगवती क्लबले फराकिलो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको पहिलो खेलमा श्री भगवती क्लबले खुमलटार युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्याे ।
पहिलो जित दर्ता गर्ने क्रममा श्री भगवतीले एक गोल उपहार स्वरुप पायो । पहिलो हाफको ४४ मिनेटमा खुमलटारका रक्षक सन्जोक चाम्लिङले आफ्नै पोष्टमा गोल गर्न पुगे । फ्रिकिक रोक्ने क्रममा उनले आफ्नै पोष्टमा बल छिराएका थिए । दोस्रो हाफमा श्री भगवतीले लगातार ४ गोल गर्न सफल रह्यो ।
४९ मिनेटमा दर्शन गुरुङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५७ मिनेटमा फ्रिकिक मार्फत राना मगरले तेस्रो गोल गरे । खेलको ७५ मिनेटमा अन्जेस लामाले चौथो गोल थपे ।
खेलको ८३ मिनेटमा कार्लोस बखरीयाले किपर बिट भएकै अवस्थामा गोल गर्दै टिमलाई फराकिलो जित दिलाए । यसअघि भएको पहिलो खेलमा दुबै टिम पराजित भएका थिए ।