धनगढी । साबिकको विजेता धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा विराटनगर किंग्ससंग २१ रनले पराजित हुँदै धनगढीले तेस्रो हार व्यहोरको हो ।
फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको १०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सोमपाल कामीको धनगढी १९ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन जोडे । अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धनगढीलाई सस्तैमा समेट्न विराटनगरका अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । यस्तै कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ रन जोड्दा संसद शेख ११ रनमा आउट भए ।
धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३/३ विकेट लिए । सोमपालले ३ ओभरमा ८ रन खर्चिए भने विपिनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए । रोबिन क्षेत्रीले २ विकेट लिए ।
यो हारसंगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंग पराजित धनगढी पुछारमा रहेको छ । अब धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ । यस्तै अन्य खेलको नतिजामा समेत भर पर्नु पर्ने भएको छ ।
विराटनगरको भने यो पहिलो जित हो । जितसंगै विराटनगरले २ खेलबाट २ अंक जोडेको छ । विराटनगर चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंग ५ विकेटले पराजित भएको थियो ।