काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) को टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्ने भएका छन् । केभिनले यो सिजनको इपिएल क्रिकेट खेल्ने भएका हुन् ।
आइरिस टोलीका अलराउन्डर केभिन फ्रेन्चाइज टिम काठमाण्डौं किंग्स इलाभेनबाट खेल्ने छन् । काठमाण्डौंले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३४ बर्षीय केभिनलाई क्लबमा अनुबन्धित गरेको जनाएको छ । काठमाण्डौंले उनलाई पहिलो विदेशी खेलाडीको रुपमा क्लब भित्राएको हो । यो सिजनको इपिएल क्रिकेटको लागि अनुबन्धित हुने केभिन पहिलो विदेशी खेलाडी पनि हुन् ।
काठमाण्डौंका सीइओ राजजंग थापाले प्रेस विज्ञप्तिमा भनेका छन्, 'केभिन विश्वस्तरीय अलराउन्डर हुन् । क्लब होस् या राष्ट्र उ टोलीका लागि सधै मुख्य खेलाडी हुन् । नेपाल आएर काठमाडौँ किंग्सबाट खेल्न केभिन निकै आतुर छन् ।'
आईरिस टोलीबाट सर्वाधिक बढी म्याच खेल्ने खेलाडीमा केभिन पहिलो नम्बरमा छन् । सन् २००६ देखी राष्ट्रिय टोलीमा रहदै आएका केभिनले तीन सय बढी क्याप जितेका छन् । आयरल्याण्ड टिमका महत्वपुर्ण सदस्य रहेका केभिनले ३ पटक ५० ओभरको विश्वकप र ५ पटक टी – ट्वान्टी विश्वकप खेलिसकेका छन् । उनले विश्वभरका विभिन्न प्रतियोगितामा ५० ओभर र ट्वान्टी २० म्याच खेलेका छन् ।
टेस्ट क्रिकेटमा आयरल्याण्डकातर्फबाट पहिलो पटक शतक प्रहार गर्ने खेलाडी ब्रायनले सन् २०११ को विश्वकपमा इङ्ल्याण्डविरुद्ध विश्वकपकै सबैभन्दा चाँडो शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए ।