धरान । बुढासुब्बा गोल्डकपको २१ औं संस्करणको अन्तिम क्वाटरफाइनलमा बुधबार विभागीय टिम एपीएफ र क्यामरुनको दाउफिन्स फेमिलीबीच प्रतिस्पर्धा हुँदैछ ।
धरान रंगशालामा हुने खेल दिउसो साढे २ बजे हुने आयोजकले जनाएको छ । दुवै टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
यसअघि मनकामना पोखरा कपको फाइनलमा एपीएफ क्यामरुनी क्लब दाउफिन्ससंग पराजित भएको थियो । त्यसैले एपीएफलाई दाउफिन्सविरुद्ध बदला लिने सुनौलो अवसर रहेको छ ।
दुईबीचको विजेताले फाइनल प्रवेशको लागि विभागीय नेपाल पुलिससंग फागुन ३ गते खेल्नेछ । प्रतियोगितामा संकटा क्लब, धरान फुटबल क्लब र नेपाल पुलिस अन्तिम चारमा पुगिसकेका छन् ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार पाउनेछ ।
प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक पाउने आयोजकले बताएको छ ।