काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले हिरो गोल्डकप फुटबलमा इरानविरुद्धको खेल गुमाउने भएकी छिन् । प्रतियोगिता अन्तर्गत आज (बुधबार) अपरान्ह हुने लिग चरणको अन्तिम खेलमा नेपालले ईरानसंग खेल्दैछ । निरुले चोटका कारण लिगको चरणको अन्तिम खेल गुमाउने पक्का भएको हो ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाल समय अनुसार अपरान्ह सवाँ ४ बजे सुरु हुनेछ ।
'खुट्टामा चोट लागेको छ । त्यही कारण आजको खेल खेल्दिन ।' उनले खेलपाटीसंग भनिन् । भारतविरुद्ध दोस्रो हाफमा घाइते भएपछि निरुले मैदान छाडेकी थिइन् ।
‘फिजियोले केही दिन आराम गर्न सल्लाह दिएका छन् । त्यसैले २, ४ दिन आराम गरेर हेर्नेछु ।’ उनले भनिन् ।
कप्तान निरु थापा सुरुवाती प्लेईङ सेटमा उपलब्ध नहुने भएपछि उनको स्थान अनु लामाले लिने सम्भावना छ । प्रशिक्षक हरि खड्काले निरुको स्थानमा यु–१९ टिमकी कप्तान सरु लिम्बुलाई समेत मौका दिने प्रबल सम्भावना छ ।
म्यानमार र भारतसँगको दुबै खेलमा मुख्य प्रशिक्षक खड्काले दोस्रो हाफमा सरु लिम्बुलाई परिवर्तन गरेको थिए ।
नेपाल फाइनल पुग्ने समिकरण यस्तो छ ।
प्रतियोगितामा दुबै खेल जितेको म्यानमारको ६ अंक छ । एक खेल जित र एक खेलमा हार ब्यहोरेका भारत र नेपालको सामन ३ अंक रहेको छ । दुबै खेलमा पराजित इरान अन्तिममा रहेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले इरानलाई जित्नै पर्ने दबाव रहेको छ । तर नेपाललाई जितेर मात्र पनि पुग्दैन । इरानलाई पराजित गर्न सके नेपालको ६ अंक हुनेछ । यदि नेपाल इरानसंग बराबरी खेले भोलीनै हुने दोस्रो खेलमा आयोजक भारत म्यानमारसँग पराजित हुनुपर्नेछ । यस्तो अवस्था पनि नेपाल फाइनल पुग्नेछ ।
भारतले म्यानमार र नेपालले इरानलाई पराजित गरेको खण्डमा प्रतियोगितामा तीनै टिमको ६–६ अंक रहने छ । यस्तो अवस्थामा फाइनल पुग्ने टिमको टुंगो गोल अन्तरको आधारमा लाग्नेछ । त्यसैले इरानविरुद्ध नेपालले ठुलो अन्तरको जित निकाल्न आवश्यक छ ।
यता नेपाल भने इरानसँग पराजित भएमा र अर्को खेलमा म्यानमारले भारतलाई हराएमा नेपाल भारत र इरानको समान ३ अंक रहने छ । यस्तो अवस्थामा म्यानमार स्वतः फाईनल पुग्नेछ भने अरु तीन टिमको फाइनल पुग्ने टुंगो गोल अन्तरका आधारमा हुनेछ ।
इरान विरुद्ध सम्भावित टिम :
गोलकिपर : एन्जिला तुम्बोप्पो सु्ब्वा
डिफेन्डर : हिरा कुमारी भुजेल, पुनम जर्घा मगर, गिता राना, मनमाया लिम्बु
मिडफिल्डर : मन्जली कुमारी योन्जन, दिपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
स्ट्राइकर : सावित्रा भण्डारी, अनु लामा (कप्तान)