काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज (बुधबार) दुई खेल हुदैछन् । प्रतियोगिताका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
पहिलो खेलमा श्री भगवती क्लब र खुमल्टार युवा क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो साँढे १२ बजे हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघि भएको पहिलो खेलमा दुबै टोली पराजित भएका थिए ।
आजै हुने दोस्रो खेलमा ब्वाइज युनियन र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुनेछ । साँढे ३ बजे हुने खेलमा ब्वाईज युनियन पहिलो जितको खोजीमा हुनेछ ।
लिगको उद्घाटन खेलमा ब्वाईज युनियन झम्सिखेल युथसँग १–० ले पराजित भएको थियो । त्यसैले ब्वाइज युनियन पहिलो अंक जोड्न प्रयासरत हुनेछ ।
सातदोबाटो भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा श्री कुमारी क्लबलाई २–१ ले पराजित गरेको थियो ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।