ललितपुर । सहिद स्मारक 'ए' डिभिजन लिग आगामी असोज तेस्रो साताबाट हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसेको कार्यसमिति बैठकले लिग कमिटिले पेश गरेको 'ए' डिभिजन लिगको मितिलाई स्वीकृत गरेसँगै लामो समयबाट रोकिएको लिग तोकिएको समयमै हुने भएको हो ।
पुर्व राष्ट्रिय खेलाडी तथा प्रहरीका एआइजी विज्ञान राज शर्माको नतृत्वमा रहेको लिग कमिटिले ए डिभिजन लिग असोज १३ देखि माघ १६ सम्म गर्ने प्रस्ताव कार्यसमिति बैठकमा प्रस्तुत गरेका थिए । जसलाई आज बसेको बैठकले स्वीकृत गरेको हो । योसँगै ए डिभिजन लिग चार बर्षपछि हुने पक्का भएको छ । पछिल्लो पटक बिस २०७० सालमा ए डिभिजन लिग भएको थियो । यस्तै २०७१ - ७२ मा राष्ट्रिय लिग भएको थियो ।
लिगमा १४ ए डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन् ।
लिगको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् । जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन् । मैदानमा भने ३ खेलाडी उतार्न पाउने छन् । खेलाडी दर्ता भदौ १५ देखि हुने एन्फाले जनाएको छ ।
यस्तै एन्फा कार्य समिति बैठकले आज विभिन्न् तीन समितिले पेश गरेको नियमावलीलाई विशेष साधारणसभा लैजाने निर्णय गरेको छ । बैठकले बसन्त अर्याल संयोजक रहेको कर्मचारी नियमावली, किरण राईको संयोजकमा रहेको विधान संसोधन समिति र शिक्षित पराजुलीको संयोजकमा रहेको आर्थिक नियमावलीलाई विशेष साधारणसभाबाट पास गराउने निर्णय गरेको हो छ ।