धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनायो । जारी लिगमा यो अहिलेसम्मकै सर्वाधिक ठुलो स्कोर समेत हो ।
काठमाडौंको उच्च स्कोरमा अंकित दबासले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङस खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा महेबुब आलमले १३ रन बनाए ।
सोनु तामाङ र गौरव तमोर १/१ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए ।
महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १/१ विकेट लिए
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो ।
काठमाडौं २ अंक जोडेर तेस्रो स्थानमा छ । जित निकाले काठमाडौं शीर्ष दुईमा पुग्नेछ ।
यता, शरद भेषावकरको टिम महेन्द्रनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित महेन्द्रनगर चौंथो स्थानमा छ ।