धनगढी । विराटनगर किंग्सका भारतीय खेलाडी मोहमद असादउल्लाह खानलाई धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले कारबाही गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आईसीसीको नियम उलंघन गरेको कारण डीपीएलले खानलाई कारबाही गरेको जनाएको छ । खानले खेलको दौरान आईसीसीको नियमविपरित रेफ्रीको निर्णयमा आपत्ति जनाएका थिए ।
डीपीएलले म्याच रेफ्री मोहमद साफीकले उपलब्ध गराएको रिपोर्टको आधारमा कारबाही गरेको हो । कारबाही स्वरुप डीपीएलले खानलाई म्याच फि को रकम जरिवाना गरेको जनाएको छ ।
मंगलबार खानको टिम विराटनगर रुपन्देही च्यालेन्जर्ससंग ५ विकेटले पराजित भएको थियो ।