काठमाण्डौ । सहिद स्मारक 'बी' डिभिजन लिगमा आज भएको दुवै खेल बराबरीमा सकिएको छ। मंगलबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब २-२ गोलको बराबरी खेले।
आजको पहिलो खेलको ११ औँ मिनेटमा अनुज भण्डारीको गोल मार्फत बाँसबारी क्लबले सुरुवाती अग्रता लिएको थियो। १४ औँ मिनेटमा पेनाल्टी मार्फत सुजन लिम्बुले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाए।
२४ औँ मिनेटमा युवराज ढकालले तुसालका लागि गोल गर्दै खेलमा फर्किने संकेत गरे। खेलको अन्तिम समय सम्म २-१ को अग्रता कायम राखेको बाँसबारी अतिरिक्त समयमा सम्हालिन नसक्दा टुसाल युथ क्लबका मनिस सेंडाईले गोल गर्दै बाँसबारीलाई अंक बाँड्न बाध्य बनाए।
दोश्रो खेलमा झम्सिखेल र नयाँ बस्ति बीच कुनै गोल हुन सकेन। दुवै तर्फ बाट केहि राम्रो प्रयास भएपनि दुवै टोलि गोल गर्न बाट चुके र अंक बाँड्न बाध्य भए। लिगको पहिलो खेलमा नयाँ बस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
आजको खेल सकिए संगै १ जित र १ बराबरीका साथ ४ अंक रहेको झम्सिखेल लिगको पहिलो स्थानमा रहेको छ भने समान नतिजाका साथ टुसाल क्लब दोस्रो स्थानमा छ। बाँसबारी क्लब र नयाँ बस्ती दुवैले १ हार र १ बराबरीका साथ समान १ अंक जोड्दै ७ औं र ८ औँ स्थानमा रहेका छन् ।