धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेपछि रुपन्देही च्यालेन्जर्सका कप्तान बसन्त रेग्मीले हरेक खेल जित्दै अघि बढ्ने लक्ष्य लिएको बताएका छन् ।
फाप्ला क्रिकेट मैदानमा मंगलबार विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देहीले लगातार दोस्रो जित निकालेको थियो । जितपछि बोल्दै कप्तान बसन्तले अहिले नै टिमलाई प्ले अफमा नदेखेको तर बाँकी रहेको सबै खेल जितेर अघि बढ्ने बताए ।
'अहिले नै प्ले अफमा देख्नु राम्रो कुरा हैन । तर, हामी हरेक खेलमा जित निकाल्दै जाने सोचमा छौं । राम्रो क्रिकेट खेल्ने आफ्नो टिमलाई जिताउदै जाने छ । त्यसपछि नतिजा आफ्नो हातमा हुन्छ,' कप्तान बसन्तले भने ।
लगातार २ खेलमा जित निकालेपछि रुपन्देहीले २ खेलबाट ४ अंक जोडेको छ । र, लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । तर, कप्तान बसन्तले लिग खेल नसकेसम्म प्ले अफबारे भन्न नसकिने बताए ।
'जबसम्म लिग खेल सकिदैन त्यतिबेलासम्म सम्भावना गार्है छ । किनकी पिच पनि त्यहि किसिमको छ,' कप्तान बसन्तले थपे । यस्तै बसन्तले बलिङ र ब्याटिङ राम्रो गरेको कारण टोलीले जित निकालेको बताए ।
विराटनगरका कप्तान करण केसीले टिमले राम्रो प्रदर्शन गरेपनि कम रन बनाउदा पराजित भएको बताए ।
'ब्याटिङ क्लिक भएन। टिमले राम्रो खेलेको हो,' कप्तान करणले भने, 'हामीले १०/२० रन कम दियौं । सबैले राम्रो गरेको हो सफल भएनौ ।'
त्यस्तै कप्तान करणले अबको खेलमा सुधार गरेर लैजाने बताए ।