काठमाडौं । जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेल्न नेपालको रुस्लान थ्री स्टार क्लब भोली (बुधबार) भुटान जाने भएको छ । करिब १३ बर्ष पछाडी पुन सुरु हुन लागेको प्रतियोगिता खेल्ने थ्री स्टार क्लब भुटान जान लागेको हो । थ्री स्टारको टिम भोली दिउँसो साँढे एक बजे पुर्वको काँकडभिट्टा हिड्ने तालिका रहेको छ ।
लिगको तेस्रो स्थानमा रहेको टिम थ्री स्टारलाई अलिख नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताका लागि सिफारिस गरेको थियो । थ्री स्टारले सिधै क्वार्टरफाईनलको खेल खेल्नेछ ।
लिगमा अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको थ्री स्टारले मोफसलमा राम्रो प्रर्दशन गरेको थियो । खप्तड गोल्डकपको उपविजेता बनेको थ्री स्टारले सिमरा गोल्डकपको उपाधि उचालेको थियो ।
थ्री स्टारले फेब्रुअरी १६ मा प्रतियोगिताको पहिलो खेल खेल्नेछ ।
लिग लगत्तै थ्री स्टारले टोलीमा ब्यापक परिवर्तन गरेको छ । मिडफिल्डर निराजन खड्का र विण्णु सुनुवारलाई रिलिज गरेको थ्री स्टारले दिनेश राजवंशी र अनन्त तामाङलाई क्लबमा भित्राएको छ ।
थ्री स्टारको फरवार्ड लाईनमा युवा स्ट्राईकर रेजिन सुब्बा समेत थपिएका छन् ।
क्लबलाई धोका दिएको भन्दै कारबाहीको सिफारिसमा परेका अजायी मार्टिन र पिटर सेगुनलाई समेत क्लबले टिममा समावेश गरेको छ । दुवै खेलाडीले क्लबसंग गम्भिर गल्ती गरेको स्विकार गर्दै माफी मागेपछि थ्री स्टारले माफी दिने निर्णय गरेको हो ।
नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताका खेल भुटान भारत सिमा क्षेत्र फुईटसोलिङ्गमा हुनेछ ।
भुटानको प्रतिष्ठित फुटबल प्रतियोगिता सन् २००६ यता हुन सकेको थिएन । सन् १९८७ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण नेपालको जनकपुर टिमले जितेको थियो । पछिल्लो समय भारतको वेस्ट बंगालले गोल्डकपको ट्रफी उचालेको थियो ।
आर्मीले समेत भोलीनै उड्ने ।
थ्री स्टारसंगै विभागीय टिम आर्मी समेत भोली भुटानतर्फ प्रस्थान गर्नेछ । आर्मीले समेत प्रतियोगितामा सिधै क्वार्टरफाईनल खेल्नेछन् । आर्मीको पहिलो खेल फेब्रुअरी १५ मा रहेका छ ।
लिगमा चौथो स्थानमा रहेको आर्मीलाई समेत एन्फाले जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेल्न सिफारिस गरेको थियो । आर्मीको टिम दिउँसो सवाँ २ बजे भद्रपुरकालागि प्रस्थान गर्नेछ ।