धनगढी । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै बसन्त रेग्मीको रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो ।
फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य भैरहवाले १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन जोडे । भारतीय ब्याट्सम्यान पुनितले ४ छक्का र २ चौका प्रहार गरे । यस्तै बाबर हायतले १७ रन जोड्दा भिम सार्कीले अविजित १२ रन जोडे । कप्तान बसन्त ८ रनमा अविजित रहे ।
विराटनगरका अभिनास यादवले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
विराटनगरका लागि प्रनित थापा मगरले अविजित रहदै सर्वाधिक १७ रन जोड्दा असद उल्लाह खानले १६ रन जोडे । यस्तै कुशल भुर्तेलले १२ रन बनाउदा संसद शेखले १० रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न रुपन्देहीका पुनित मेहेराले ३ विकेट लिए । यस्तै ललित भण्डारी र बसन्त रेग्मीले २/२ विकेट लिए ।
दोस्रो जितसंगै रुपन्देही लिगको शीर्ष स्थानमा उक्लिएको छ । रुपन्देहीले २ खेलबाट ४ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले हराएको थियो ।
विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब विराटनगरले बुधबार धनगढी स्टार्ससंग खेल्नेछ । रुपन्देहीले बिहिबार सिवाईसी अत्तरियाको सामना गर्नेछ ।