धनगढी । विराटनगर किङ्गसले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सलाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाउन सक्यो ।
विराटनगरका लागि प्रनित थापा मगरले अविजित रहदै सर्वाधिक १७ रन जोड्दा असद उल्लाह खानले १६ रन जोडे । यस्तै कुशल भुर्तेलले १२ रन बनाउदा संसद शेखले १० रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न रुपन्देहीका पुनित मेहेराले ३ विकेट लिए । यस्तै ललित भण्डारी र बसन्त रेग्मीले २/२ विकेट लिए ।
करण केसीको कप्तानीमा रहेको विराटनगर जितबाट प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । विराटनगरको यो पहिलो खेल हो ।
यता, रुपन्देही लगातार दोस्रो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले हराएको थियो ।