काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबलको २१ औँ संस्करणको तेस्रो क्वार्टरफाइनलमा आयोजक धरान फुटबल क्लव र कोलकत्ताको डल हाउसबीच प्रतिस्पर्धा हुदैछ । धरान रंगशालामा हुने खेल दिउँसो साँढे २ बजे हुने आयोजकले जनाएको छ ।
दुबै टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छन् । विजेताले फाइनल प्रवेशका लागि संकटा फागुन २ गते खेल्नेछ । यसअघि भएको खेलमा सडन डेथमा विजयी हुँदै नेपाल पुलिस र संकटा सेमिफाइनल पुगिसकेका छन् ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाईक प्रदान गर्ने आयोजकले बताएको छ ।