काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले भारतलाई हराउने सपना पुरा भएको बताएका छन् । हिरो गोल्डकप फुटबलमा सोमबार नेपालले भारतलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक खड्काले भारतलाई उसैको मैदानमा हराउने सपना पुरा भएको बताएका हुन् ।
‘खेलाडी हुँदा भारतलाई उसैको भुमिमा हराउने सपना थियो । त्यस समय नसकेपनि प्रशिक्षकको भुमिकामा रहँदा त्यो सपना पुरा भयो ।’ उनले लेखेका छन् ।
प्रशिक्षक खड्काले आफुलाई विश्वास गर्ने एन्फा र खेलाडीमा आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘मेरो सपना पुरा गरेकोमा मेरा चेली (खेलाडी)प्रति ह्दयदेखि आभारी छु ।’
उनले अबको लक्ष्य साफ च्याम्पियनसिप भएको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टिमबाट हरि खड्काले सर्वाधिक १३ गोल गरेका छन् ।
नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) ईरानसंग प्रतिस्पर्धा गर्दैछ ।