धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे । यस्तै जयकिशन कोश्लावालाले २१ रन जोड्दा प्रेम तामाङले १२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाएर आउट भए ।
धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १/१ विकेट लिए ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया धनगढीलाई हराउँदै जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । अत्तरियाको यो पहिलो खेल हो । यता सोमपाल कामीको धनगढी पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित धनगढीलाई प्ले अफको सम्भावना बलियो बनाउन जित निकाल्नै पर्ने हुन्छ।