काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई पराजित गरेको छ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको हो । योसंगै नेपाली सिनियर महिला टोलीले भारतलाई पहिलो पटक हराउँन सफल भएको छ ।
नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरिन् । खेलको सुरुवाती मिनेटमै नेपालले अग्रता बनाएको थियो ।
सावित्राले गोल गर्दै नेपाललाई खेलको पाँचौ मिनेटमा अग्रता दिलाएकी थिईन् । लगत्तै सातौ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर परेकी थिईन् ।
भारतले खेल ८४ औ मिनेटमा गोल गर्दै खेलमा फर्कने कोशिश गरेपनि सफल हुन सकेन । भारतका लागि रतन बालादेवीले गोल गरेकी थिईन् ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाली टिम भारतविरुद्व उत्रिएको हो ।
मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा म्यानमारविरुद्व उत्रिएको टोलीलाई आजपनि प्लेईङ सेटमा उतारेका थिए ।
भारतविरुद्व प्राप्त जितले नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ३ अंक जोडेको छ । शीर्ष स्थानको म्यानमारको ६ अंक छ । उसले दोस्रो खेलमा ईरानलाई पराजित गरेको थियो ।
तेस्रो स्थानको भारतको समेत ३ अंक छ । पहिलो खेलमा भारतले ईरानलाई १–० ले हराएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा ईरानसंग खेल्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन गरिएको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
साफ र ओलम्पिक छनोटलाई केन्द्रित गरेर भारतीय फुटबल फेडेरेसनले प्रतियोगिताको आयोजना गरेको हो ।
याे पनि :
भारतविरुद्द २ गाेल गर्ने काे हुन सावित्रा ?