काठमाडौं । धनगडी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणको पहिलो दिन दुई खेल भए । ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेन्स र बसन्त रेग्मी कप्तानीको रुपन्देही च्यालेञ्जर्सले सुखद सुरुवात गरे ।
पहिलो खेलमा साविकको विजेता धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात ग¥यो । अर्को खेलमा शरद भेषवाकरको टिम महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देहीले रोमाञ्चक जित दर्ता गर्यो ।
आज दुवै खेलमा राम्रो रन बन्न सकेन। पहिलो खेलमा एक सय ३३ रनको लक्ष्य काठमाडौंले अन्तीम बल बाँकी छदा पुरा गर्यो भने दोश्रो खेलमा महेन्द्रनगरले त सामान्य एक सय ११ रन पनि भेट्टाउन सकेन।
दुवै खेलमा समानता रहे । दुवै खेलमा ब्याट्सम्यान रन बनाउन संघर्षरत देखिए । हुन त टी ट्वान्टी खेललाई चौका र छक्काको खेल भनिन्छ । तर धनगढीको फाप्ला मैदानमा स्टार ब्याट्सम्यानहरु रन बनाउन निकै संघर्ष गरेको देखिन्थ्यो ।
किन बन्न सकेन रन ?
बर्षाले दुई दिन पछाडी सरेको प्रतियोगिताको पहिलो दिन ब्याट्सम्यानलाई खेल्न निकै मुस्किल देखियो । करिब चार बर्ष पछाडी फाप्ला मैदानमा क्रिकेट फर्किएको हो । पहिलो दिन भएर खेलाडीहरुले पिच राम्रोसंग बुझ्ने मौकै पाएनन् । पिचले बलिङलाई मद्दत गर्दा ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।
पिच अनुसार आजको दिन स्पिनरको रह्यो । पिचले स्पिनरलाई मदत ग¥यो, बल निकै घुमेको देखियो । आउट फिल्ड मात्र नभई पिच पनि स्लो रह्यो ।
रन नबन्नमा पिचको मात्र दोष छैन ।
घरेलु क्रिकेटको कमजोर ब्याटिङको प्रत्यक्ष दर्शक फाप्ला क्रिकेट मैदान रह्यो । सधैँको कमजोर ब्याटिङ आज पनि दोहरियो । कतिपय खेलाडीले गलत सट खेले, जसको सिकार उनीहरु भए ।
घरेलु प्रतियोगितामा फ्रेन्चाईजले खेलाडीलाई ब्यस्त बनाएपनि खेलाडीले ब्याटिङमा उलेख्य सुधार गर्नुपर्ने देखिन्छ ।
‘बलिङ पिच भएर ब्याट्सम्यान खुलेर खेल्न सकेनन् तर रन भने अझै माथि बन्न सक्थ्यो ।’ म्याच रेफ्री देबेन्द्र सुबेदीले खेलपाटीसंग भने ।