धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा पराजित भएपछि साबिकको विजेता धनगढी स्टार्सका कप्तान सोमपाल कामीले गल्तीहरुले गर्दा पहिलो खेलमै पराजय व्यहोर्नु परेको बताएका छन् ।
फाप्ला क्रिकेट मैदानमा सोमबार धनगढी ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित भएको थियो । पहिलो खेलमै पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै कप्तान सोमपालले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरेपनि गल्तीहरु धेरै गरेको कारण हार व्यहोर्नु परेको बताए ।
'हामीले राम्रो खेलेका हौँ । ब्याटिङ र बलिङ राम्रो गरेका थियौं । तर, गल्तीहरु हामीले धेरै गर्यौं । त्यसैले हार्न पुग्यौं, टी-ट्वान्टीमा गल्ती गरेपछि खेलमा पुन फर्किने समय हुँदैन,' कप्तान सोमपालले भने । कप्तान सोमपालले विकेट किपिङमा गल्ती बढी भएको तर, विकेटको अवस्थाले उक्त गल्तीहरु देखिएको बताए ।
यस्तै कप्तान सोमपालले अबको खेलमा सुधार गरेर आउने बताए ।
'पहिलो खेलमा हामी पूर्ण तयार थिएन अब हामी खेलमा प्लान बनाएर आउने छौँ । पहिलो खेल हो । उपाधि होडमा धक्का लाग्यो भन्न मिल्दैन,' कप्तान सोमपालले थपे,'पहिलो खेलको हारले खेलाडीहरुले अब सुधार गर्नेछन् । जितका लागि हार महत्वपूर्ण हुन्छ । यो सुरुवात हो ।'