काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले कठिन जित दर्ता गराएको छ । सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मध्यपुरले खुमलटार युथ क्लबलाई ३–२ गोलले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खुमलटारले पराजित हुन पुग्यो ।
खेलको ८ औँ मिनेटमा सुवर्ण बिक्रम कार्कीको गोलमार्फत मध्यपुरले खेलमा अग्रता बनाएको थियो । तर पहिलो हाफमै खुमलटारले खेल बराबरीमा ल्यायो । ४० मिनेटमा गोल गर्दै अभय रानाले खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि मध्यपुरले लगातार दुई गोल गर्याे । खेलको ४६ मिनेटमा कैलाश लामिछानेले गोल गरे भने ६६ मिनेटमा विवेश गुरुङले तेस्रो गोल गरे ।
अभय रानाले खेलको ७४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।
ईन्जुरी समयमा खुमलटारका राजेन्द्र देउजाले पेनाल्टी प्रहार खेर फालेको थिए ।
आजै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेका थियो ।