काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकप फुटबलको २१ औं संस्करणमा सेमिफाइनलमा पुगेको छ । सोमबार धरान रंगशालामा भएको खेलमा पुलिसले पोखराको साहारा एकेडेमीलाई सडनडेथमा पराजित गरेको हो ।
पुलिसले फाइनल प्रवेशको लागि फागुन ३ गते एपीएफ र क्यामरुनको दाउफिन्सबीचको विजेतासंग खेल्नेछ । योसँगै प्रतियोगिताका सुरुवाती दुबै खेलको छिनोफानो सडनडेथमा भएको छ ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलको म्यान अफ द म्याच पुलिसका निर कुमार राई घोषित भए ।
यसअघि झापा क्लबबाट खेल्दै आएका डिफेन्डर देबेन्द्र तामाङ पुलिसको जर्सीमा मैदान उत्रिएका थिए । धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्वा्िधक गोलकर्ताले ३५ हजार पाउनेछ ।
प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । उदयमान खेलाडीले १५ हजार पाउनेछ ।
यस पटक आयोजकले गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक प्रदान गर्ने बताएको छ ।