धनगढी । बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सले तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा शरद भेषावकरको टिम महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देहीले विजयी सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको १ सय १२ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका आनन्द सुब्रमन्युले सर्वाधिक २५ रन जोडे ।
यस्तै रोहित कुमार पौडेलले २४ रन जोड्दा मोहमद नाभिदले १२ रन बनाए । महेन्द्रनगरका पाँच ब्याट्सम्यान दोहोरो अंक नजोडी पेभेलियन फर्किए ।
महेन्द्रनगरलाई रोक्न रुपन्देहीका बिक्रम शोबले ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए । पुनित मेहेराको नाममा २ विकेट रह्यो । यस्तै कप्तान बसन्तले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ८ रन खर्चेर १ विकेट लिए । ललित भण्डारीले समेत १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोडे । यस्तै विनोद भण्डारी १९, सन्दीप सुनार १५ तथा बाबर हायत १४ रनमा आउट भए । बिक्रम शोब १६ रनमा अविजित रहे ।
रुपन्देहीलाई सस्तैमा समेट्न महेन्द्रनगरका सिधान्त लोहनीले ३ तथा अभिनास बोहरा र सागर ढकालले २/२ विकेट लिए ।
जितसंगै रुपन्देहीले अंक तालिकामा २ अंक जोड्न सफल भएको छ । र, रुपन्देहीले लिगको दोस्रो स्थानमा रहेको छ । अब रुपन्देहीले मंगलबार विराटनगर किङससंग खेल्नेछ ।
यस्तै महेन्द्रनगरले बुधबार काठमाडौं गोल्डेन्ससंग खेल्नेछ । यसअघि भएको पहिलो खेलमा काठमाडौंले साबिकको बिजेता धनगढी स्टार्सलाई ४ विकेटले हराएको थियो । काठमाडौं २ अंकसहित शीर्ष स्थानमा छ ।