काठमाडौं । जापानको रिस्सो विश्वविद्यालयले नेपालको यु–२१ फुटबल टिमलाई पराजित गरेको छ । सोमबार बिहान एन्फा मैदान सातदोबाटोमा भएको खेलमा रिस्सो विश्वबिद्यालयले नेपाल युवा टोलीलाई २–० ले पराजित गरेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो । जापानी टोली पेनाल्टीमा गोल गर्न समेत चुक्यो । नेपाली गोलरक्षक बिष्णु केसीले जापानी खेलाडीको पेनाल्टीलाई रोकेका थिए ।
मनकामना पोखरा गोल्डकप खेल्न नेपाल आएको रिस्सो टिम सेमिफाइनमा एपीएफसँग पराजित भएको थियो । टिम भोली स्वदेश फर्कदैछ ।
नेपाली युथ टिमले भारतको गुवाहाटीमा हुने डा ता आओ स्मृति यू–२१ प्रतियोगितामा खेल्दैछ । प्रतियोगिताको तयारी स्वरुप नेपाली टिमलाई रिस्सोसंग खेल्ने व्यवस्था मिलाईएको हो ।
भारत जाने टिमलाई अहिले चेतनारायण श्रेष्ठ र सल्यान खड्गीले हेरिरहेका छन् । प्रारम्भिक रुपमा ५० जना खेलाडीलाई राखेर नियमित अभ्यास गराईएको छ ।
रिस्सोसंगको मैत्रिपुर्ण खेललाई खेलाडी छनोटको रुपमा लिईएको प्रशिक्षक सल्यान खड्गीले बताए । भारतमा हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान र बंगलादेशले सहभागि छन् ।
खेल लगत्तै खेलाडीको जर्सी साटासाट कार्यक्रम राखिएको थियो । जापानका पाँच अफिसियललाई एन्फाले जर्सी प्रदान गरेको थियो ।