काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।
युएईविरुद्धको ३ खेलको टी-ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले आईसीसीको वरियतामा स्थान बनाएका छन् ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।
वरियतामा कप्तान पारसले फड्को मारेका छन् । अलराउण्डरतर्फ कप्तान पारस ४० औं स्थानमा रहेका छन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो ।
अघिल्लो महिना कप्तान पारस ब्याटिङतर्फ ९६ औं स्थानमा रहेका थिए । यसपटक उनी ९० औं स्थानमा छन् ।
यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५१ औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ६३ औं स्थानमा रहेका थिए ।
त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । अघिल्लो महिना सोमपाल ९३ र बसन्त ७४ औं स्थानमा रहेका थिए ।