काठमाडौं । 'ए' डिभिजन क्लब थ्री स्टार बिदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिनलाई कारबाही गर्ने निर्णयबाट पछाडी हटेको छ । 'ए' डिभिजन लिगको समय दुई विदेशी खेलाडीले क्लबलाई गम्भिर धोका दिएको भन्दै थ्री स्टारले अखिल नेपाल फुटबल संघ एन्फामा कारबाहीको माग गर्दै निवेदन दिएको थियो ।
थ्री स्टारले क्लबसंगको सम्झौता विपरित गतिविधि गरेका कारण दुवै खेलाडीलाई घरेलु फुटबलमा प्रतिबन्ध लगाउन माग गर्दै एन्फामा निवेदन दिएको थियो ।
अन्तिम समयमा आएर थ्री स्टारले खेलाडीलाई कारबाही गर्न माग गर्दै एन्फामा दर्ता गरेको निवेदन फिर्ता लिएको छ । खेलाडीको गल्तीलाई माफ गर्दै थ्री स्टारले एन्फामा दर्ता गरेको निवेदन फिर्ता लिएको हो ।
'ए' डिभिजन लिगको समय पिटर र मार्टिनले क्लबलाई छलेर मोफसलका प्रतियोगिता खेल्न रुपन्देहीसम्म पुगेका थिए ।
लिग सकिएपछि खेलाडीले धोका दिएको निष्कर्श निकाल्दै थ्री स्टारले दुई खेलाडीको कारबाही प्रक्रिया अघि बढाएको थियो ।
‘एन्फामा दिएको निवेदन फिर्ता लिएका छौ । दुवै खेलाडीले गल्ती स्विकार गर्दै माफ मागेपछि कारबाहीको प्रक्रियाबाट पछाडी हटेका हौ ।’ थ्री स्टारका अध्यक्ष अरुणमान जोशीले भने ।
घरेलु फुटबलमा पिटर निकै राम्रा डिफेन्डर मानिन्छन् । त्यस्तै फरवार्ड मार्टिनले समेत पछिल्लो समय प्रर्दशनमा सुधार गर्दै आएका थिए । चोटका कारण मार्टिनले थ्री स्टारबाट लिगमा खासै राम्रो प्रर्दशन गर्न सकेका थिएनन् ।
लिगमा तेस्रो भएको थ्री स्टारले अब भुटानमा जिग्मे दोर्जे वाङचुक गोल्डकप खेल्दैछ । क्लब स्रोतका अनुसार थ्री स्टारले पिटर र मार्टिनलाई क्लबमा समावेश गर्दै भुटान लैजाने तयारी गरेको छ ।
लिगमा अपेक्षाकृत प्रर्दशन गर्न नसकेपछि थ्री स्टारले टिममा समेत ब्यापक फेरबदल गरेको थियो । उसले मिडफिल्डर निराजन खड्का र डिफेन्डर विण्णु सुनुवारलाई रिलिज गरिदिएको थियो ।
लगत्तै उसले राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ र दिनेश राजवंशीलाई क्लबमा भित्राएको थियो । डिफेन्स र मिडफिल्डमा सन्तुलित देखिएको थ्री स्टारले फरवार्ड लाईनमा राम्रो स्ट्राईकर खोजिरहेको छ ।