धनगढी । ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा साविकको विजेता धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमपाल कामीको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंका लागि अंकित दबासले २९ रन जोड्दा ओपनर गौरब तमोरले २८ रन बनाए । यस्तै अनिल कुमार साहले २४ रन जोडे । यस्तै बिक्रम कुमार भुसाल १४ रनमा अविजित रहदा महेबुब आलमले अविजित १२ रन बनाए ।
धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए । बिपिन खत्री र अमिर हायतले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए । अमितले ५० बलमा ५० रन जोडेर आउट भए ।
अमित तेस्रो संस्करणको डीपीएलमा बनाउने पहिलो खेलाडी बने ।
मात्र ६ रन जोड्दा ओपनर रोहन मुस्तफा र सुनील धमलालाई गुमाएको धनगढीका लागि अमितले तेस्रो विकेटका लागि सन्दीप रजाईलीसंग मिलेर ५२ रनको साझेदारी गरे । सन्दीप २८ रनमा आउट भए ।
यस्तै सौरभ खनालले अविजित २५ रन जोड्दा पवन सर्राफले १९ रन बनाए । धनगढीका सुनिलले ३ रन जोड्दा रोहन सुन्य रनमा आउट भए ।
काठमाडौंका नन्दन यादबले २ विकेट लिए । ललित नारायण राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।
जितसंगै काठमाडौंले २ अंक जोडेको छ । साविकको बिजेता धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अब काठमाडौंले बुधबार महेन्द्रनगर युनाइटेडसंग खेल्नेछ । यस्तै धनगढीले मंगलबार सिवाईसी अत्तरियासंग खेल्नेछ ।