धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनायो ।
खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए । अमितले ५० बलमा ५० रन जोडेर आउट भए ।
मात्र ६ रन जोड्दा ओपनर रोहन मुस्तफा र सुनील धमलालाई गुमाएको धनगढीका लागि अमितले तेस्रो विकेटका लागि सन्दीप रजाईलीसंग मिलेर ५२ रनको साझेदारी गरे । सन्दीप २८ रनमा आउट भए ।
यस्तै सौरभ खनालले अविजित २५ रन जोड्दा पवन सर्राफले १९ रन बनाए । धनगढीका सुनिलले ३ रन जोड्दा रोहन सुन्य रनमा आउट भए ।
काठमाडौंका नन्दन यादबले २ विकेट लिए । ललित नारायण राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।
काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लकाे कप्तानीमा मैदान उत्रिएका छन् । धनगढीकाे नेतृत्व सोमपाल कामीले गरेका छन् ।
अघिल्ला दुवै संस्करणको उपाधि जितेको धनगढी उपाधि रक्षाको लक्ष्यमा हुनेछ । यता, काठमाडौं अघिल्लो संस्करणको फाइनलमा व्यहोर्नु परेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।