धरान । बुढासुब्बा गोल्डकप अन्तर्गत आज (सोमबार) नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ ।
धरान रंगशालामा हुने खेल दिउसो साढे २ बजे हुनेछ । प्रतिस्पर्धाको लागि मैदान उत्रदा दुवै टोली सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
विजेताले फाइनल प्रवेशको लागि एपीएफ र क्यामरुनको दाउफिन्सबीचको विजेतासंग फागुन ३ गते खेल्नेछ । पुलिस तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको उपविजेता समेत हो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार पाउनेछ ।
प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ ।
यस पटक आयोजकले गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक प्रदान गर्ने आयोजकले बताएको छ ।