काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) आयोजक भारतको सामना गर्दैछ ।
नेपाल र भारतबीचको खेल उडिसा स्थित कालिङ्गका रंगशालामा नेपाली समय अनुसार बेलुकी सवाँ ७ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदाँ नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसंग पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
पहिलाे खेलमा गरेका कमजाेरी दाेस्राे खेलमा सुधार गर्ने लक्ष्यमा नेपाल हुनेछ । पहिलाे खेलकाे सुरुवातमा प्रतिद्दन्दीलाई दबाबमा राखेपनि नेपालले गाेलकाे अवसर सिर्जना गर्न सकेकाे थिएन ।
पहिलो खेलमा नेपाल म्यानमारसंग ३-० ले पराजित भएको थियो । भारतविरुद्ध नेपाललाई जित्नैपर्ने दबाव रहेको छ । पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।
यता, भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा इरानलाई १–० ले पराजित गर्दै भारतले ३ अंक जोडिसकेको छ ।
प्रतियोगितामा सोमबार म्यानमार र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा एक एक जित निकालेको भारत र म्यानमारको समान ३/३ अंक छ । नेपाल र इरानले अंक जोड्न सकेको छैन । गोल अन्तरका आधारमा नेपाल अन्तिममा रहेका छन् ।
राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।