धरान । बुढासुब्बा गोल्डकप फुटबलको उद्घाटन खेल स्थगित भएको छ । आइतबार भएको संकटा क्लब र मेची नेत्रालयबीचको उद्घाटन खेल रात परेपछि सडन डेथमा पुगेर स्थगित भएको हो ।
धरान रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा ४-४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा ९-९ गोलको बराबरी भएपछि मैदान अध्यारो हुँदा खेल स्थगित गरिएको आयोजकले जनाएको छ । अब सोमबार यसै अवस्थाबाट खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार नेपाल पुलिस क्लब र सहारा पोखराबीच खेल हुनेछ ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । यस पटक आयोजकले गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक प्रदान गर्ने आयोजकले बताएको छ ।