काठमाडौं । नेपाल यु–१९ टोली गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानी टिम पारो फुटबल क्लबबाट खेल्ने भएका छन् । भुटान फुटबल महासंघले आयोजना गर्ने जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा अर्पणले टिम पारोबाट खेल्ने तय भएको हो ।
प्रतियोगिता खेल्न उनी भुटान पुगिसकेका छन् ।
भुटानी क्लबबाट अहिलेलाई मात्र एक प्रतियोगिता खेल्ने तय भएको अर्पणले खेलपाटीलाई बताए । पारो फुटबल संघले प्रतियोगिताको पहिलो खेल फागुन १ गते खेल्नेछ । यसअघि अर्पणले माल्दिभ्सको दोस्रो डिभिजन लिग खेलेका थिए । ए डिभिजन लिगमा अर्पणले नेपाल पुलिस क्लबबाट खेलेका थिए ।
जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा नेपालबाट विभागीय त्रिभुवन आर्मी र रुस्लान थ्री स्टार क्लबको पनि सहभागिता जनाउने भएका छन् ।
आर्मीले पहिलो खेलमा फेब्रुअरी १५ मा पहिलो खेल खेल्नेछ । आर्मीले प्रि क्वार्टरफाईनलमा भिड्ने थिम्पु सिटी र भारत आसामको पिलग्रिम क्लबबीचको विजेतासंग अन्तिम ८ मा खेल्नेछ ।
अर्को क्लब थ्री स्टारले फेब्रुअरी १६ मा पहिलो खेल खेल्नेछ । प्रि क्वार्टरफाईनलमा भिड्ने भुटानको उग्यन एकेडेमी र डुक युनाईटेडबीचको विजेतासंग थ्री स्टारले अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने तय भएको छ ।
नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताका खेल भुटान भारत सिमा क्षेत्र फुईटसोलिङ्गमा हुनेछ ।
भुटानको प्रतिष्ठित फुटबल प्रतियोगिता सन् २००६ यता हुन सकेको थिएन । सन् १९८७ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण नेपालको जनकपुर टिमले जितेको थियो । पछिल्लो समय भारतको वेस्ट बंगालले गोल्डकपको ट्रफी उचालेको थियो ।
गोल्डकपमा भुटान सहित नेपाल र भारतक टिमले सहभागिता जनाउनेछन् ।