पोखरा । मनकामना केवलकार पोखरा कप प्रतियोगिताको उपाधिका लागि आज (आईतबार) विभागीय एपीएफ र क्यामरुनको दाउफिन्स फेमेलिबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा दिउँसो साँढे २ बजे हुनेछ ।
दुबै टिम मोफसलको प्रतियोगितामा पहिलो उपाधिको खोजिमा हुनेछन् । दुबै टोली पहिलो पटक मोफसलको प्रतियोगितामा फाइनल पुगेका हुन् । सहिद स्मारक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको २४ घण्टा पनि वित्न नपाउँदै दाउफिन्स फाइनल खेल्न लागेको हो ।
कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले क्लबसँगको आपसी समझदारीमा आज फाइनल राखेको बताए । ‘दाउफिन्सले बुढासुब्बामा समेत खेल्दैछ । सोही कारण क्लबसँग सल्लाहा गरेरै फाइनल राखिएको हो ।’ कार्कीले बताए ।
सेमिफाइनल खेल बर्षाले प्रभावित भएपछि एक दिन खेल लम्ब्याइएको थियो । विदेशी टोली दाउफिन्सले भ्याली च्यासल युथ, त्रिभुनव आर्मी र मनाङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
सेमिफाइनलमा अतिरिक्त्र जर्सी नभएपछि दाउफिन्सले पाेखरा ११ काे जर्सी लगाएर मनाङविरुद्द खेलेकाे थियाे ।
एपीएफले हिमालयन शेर्पा, थ्री स्टार र जापानको रिस्सो विश्वविद्यालयलाई हराउँदै फाईनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउने छ । यस्तै उपविजेता टिमले ४ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियागितामा दुई विदेशी क्लब र ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको थियो ।