एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको बिजेता वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले शाल्केलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ११ औं मिनेटमा जेफ्री ब्रुमाको आत्मघाती गोलबाट वायर्नले अग्रता बनाएको थियो । खेलको २५ औं मिनेटमा शाल्केका अहमेद कुटुकुले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको २७ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा सेर्गी गेनाब्रीले गोल गर्दै वायर्नलाई ३-१ को जित दिलाए ।
जितसंगै तेस्रो स्थानको वायर्नले २० खेलबाट ४२ अंक जोडेको छ । र, वायर्नले दोस्रो स्थानको बोरुसिया मोञ्चेनग्लाडवाचसंगको अंक बराबरी गरेको छ ।
वायर्न लिग लिडर बोरुसिया डर्टमण्डभन्दा ७ अंकले पछि छ । डर्टमण्डको ४९ अंक छ । शनिबार राति डर्टमण्डले होफेनहाइमसंग ३-३ गोलको बराबरी खेलेको थियो ।