काठमाडौं । नेपालले हिरो गोल्डकप फुटबल प्रतियोगिताको पहिलाे खेलमा पराजय ब्यहाेरेकाे छ । शनिबार भएको पहिलो खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिम म्यानमारसंग पराजित भएको छ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो । खेलको ४४ औ मिनेटमा नेपाल पछाडी परेको थियो । म्यानमारकी खिम मोई ओईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी छिन् ।
खेलको ५२ औ मिनेटमा दोस्रो गोल ब्यहोरेको नेपालले ७७ औ मिनेटमा तेस्रो गोल खाएको थियो ।
खेलकाे सुरुवातबाट म्यानमारले नेपालमाथि दबाब बनाएकाे थियाे ।
खेलको तेस्रो मिनेटमै म्यानमारले गोल गर्ने मौका बनाएकाे थियाे । नेपाली डिफेन्डरले किपर एन्जिलला विट भएको अवस्थामा उत्कृष्ट बचाउ गरेका थिए । खेलको १० औँ मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्वाले पोष्ट नजिकैबाट उत्कृष्ट सेभ गरिन् । खेलको ३१ मिनेटमा म्यानमारका खेलाडीले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएकाे थियो ।
जितसंगै म्यानमारले तालिकामा तीन अंक जोडेको छ । पराजित नेपाल अंक जोड्न असफल भएको छ ।
प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।