काठमाडौं । हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारविरुद्व उत्रन लागेको नेपाली राष्ट्रिय महिला टिमको फरवार्ड लाईन सावित्रा भण्डारी र निरु थापाले समाल्ने भएका छन् ।
मुख्य प्रशिक्षक हरि खड्काले साम्बा नामले परिचित सावित्रासंग अनुभवी फरवार्ड निरुलाई आक्रमणको जिम्मेवारी दिएका छन् । यस्तै मिडफिल्डमा मञ्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बुढाथोकी छन् । डिफेन्स लाईन हिरा भुजेल, पुनम मगर, गिता राना र मनमाया लिम्बुले समाल्नेछन् ।
नेपालको गोलपोस्ट सदाबहार एन्जिला तुम्बाप्पे शुब्बाले समाल्नेछिन् ।
खेल भुवनेश्वरको कालिङ्गा रंगशालामा सुरु हुनेछ । साफको तयारीमा रहेको नेपालले प्रतियोगितालाई कमजोरी सुधार गर्ने अवसरको रुपमा लिएको छ ।
यस्तै, प्रतियोगिताको सम्पुर्ण खेललाई लाईभ हेर्न सकिनेछ । आयोजक भारतीय फुटबल महासंघले प्रतियोगिताका सम्पुर्ण खेल हटस्टार एप्सबाट लाईभ हेर्न सकिने जनाएको हो । भारतले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित भारत, म्यानमार र ईरान सहभागि छन् । सहभागि सबै देश विश्व वरियतामा नेपाल भन्दा माथि छन् ।
साफ र ओलम्पिकको दोस्रो चरणको छनोटका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो । श्रीलंकाले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने जनाएपछि ईरानलाई अवसर मिलेको हो ।